काठमाडौं, २१ पुस । भूमि व्यवस्था, सहरीकारी तथा गरिबी निवारणमन्त्री कुमार इङनामले सेवाग्राहीका रूपमा विभिन्न मालपोत तथा नापी कार्यालयहरूमा छड्के गर्न थाल्नुभएको छ । छड्केमा उहाँले आफ्नो टिममा मन्त्रालयका केही कर्मचारी र केही आफूनिकट व्यक्तिहरूलाई लिने गर्नुभएको छ । पुस ९ गते उनी डिल्लीबजार मालपोत कार्यालयमा पुगेका थिए। त्यहाँ पुगेका बेला मन्त्री इङनामले कार्यालयबाट निस्कने क्रममा त्यहाँ कार्यरत मालपोत प्रमुखलाई बिचौलिया रोक्न तथा काममा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको थियो । उहाँको सचिवालयमा कार्यरत एक कर्मचारीका अनुसार त्यसपछि पनि केही मालपोत कार्यालयमा छड्के गर्न उहा स्वयं जानुभएको थियो भने केही कार्यालयमा सूक्ष्म रूपमा बुझ्न आफ्ना प्रतिनिधिका रूपमा मन्त्रालयका कर्मचारीलाई पठाउने गर्नुभएको छ। मन्त्रीको प्रतिनिधि भएर बुझ्न जाने कर्मचारीहरू पनि सेवाग्रही जस्तै बनेर छड्केमा जाने गरेका छन्।
मन्त्रीको सचिवालयमा कार्यरत ती कर्मचारीका अनुसार छड्के गर्ने क्रममा एक कर्मचारीले मन्त्री इङनामसँग घुस मागेका थिए। ‘त्यसपछि मन्त्रीज्यू गम्भीर हुनु भयो र उपत्यकाका सबै मालपोत कार्यालयमा कार्यालय प्रमुख परिवर्तन गर्न निर्देशन दिनुभयो,’ उहाँले भने, ‘यसको कार्यान्वयन हुन थालिसकेको छ।’ ती कर्मचारीले मन्त्रीसँग घुस माग्ने कर्मचारी र घुस मागिएको मालपोत कार्यालयको नाम खुलाउन चाहेनन्। ‘मालपोत तथा नापी कार्यालयमा बिचौलियो तथा ग्राहकसँग घुस माग्ने क्रमलाई जरैदेखि उखेल्नुपर्छ भन्ने विषयमा मन्त्रीज्यू निकै सचेत हुनुभएको छ,’ उहाँले भन्नुभयो । ‘यसका लागि उहाँले ३९ बुँदे एक्सन प्लान ल्याउनुभएको छ। यसको कार्यान्वयन भइसकेको छ।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मालपोत कार्यालय भक्तपुरका प्रमुख माधव घिमिरे र मालपोत कार्यालय लतिलपुरका प्रमुख अशोक भट्टराईको सरुवा गरेको छ।
घिमिरे र भट्टराई दुवैलाई भूमि व्यवस्था मन्त्रालयबाट संघीय मामिला मन्त्रालयमा ल्याइएको छ। त्यो पनि अतिरिक्त समुहमा ल्याएर थन्क्याइएको छ। सामान्य प्रशासन मन्त्रालयले आइतबार साँझ नै घिमिरे र भट्टराईको सरुवा गरेको सूची आफ्नो वेबसाइटमा राखेको छ। यसपटक सरुवा गर्नेबित्तिकै मन्त्रालयले वेबसाइटमा सूची राखेको हो। यसअघि वेबसाइटमा सूची राख्न ढिलो गर्ने गरिन्थ्यो। मन्त्रालयले तीन दिन अघि चाबहिल मालपोत कार्यालय प्रमुख दीपेन्द्र खत्रीको पनि सरुवा गरिसकेको छ। त्यस ठाउँमा भोजराज श्रेष्ठलाई पठाइएको छ। मन्त्रालयनिकट अर्को स्रोतका अनुसार मन्त्री हुनुअघि इङनाम मालपोत कार्यायल भक्तपुर गएको बेला पनि त्यहाँ कार्यरत एक कर्मचारीले इङनामसँग पाँच हजार रुपैयाँ घुस मागेका थिए। त्यतिबेला भक्तपुर मालपोत कार्यालय प्रमुखमा कुमार आचार्य हुनुहुन्थ्यो । आचार्य यतिबेला विशेष अदालतमा मुद्दा परेर निलम्बनमा पर्नुभएको छ। मन्त्री इङनामले भेष बदलेर ग्राहकका रूपमा विभिन्न मालपोत तथा नापी कार्यालयमा छड्के गर्न लागेको खबरले यतिबेला मालपोत तथा नापी कार्यालयमा कार्यरत कर्मचारीहरू सचेत भएका छन्। मन्त्रालययले मालपोत तथा नापी कार्यालयहरूमा हुने अनियमितता रोक्न तथा मालपोत तथा नापीमा सुधार गर्न एउटा सुशासन विज्ञ नियुक्ति गरेको छ।








प्रतिक्रिया