समानुपातिक बन्दसूची रुजु कार्य सम्पन्न, गल्ती सच्याउने समय पुस २७ गतेसम्म

काठमाडौं, २० पुस । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएका बन्दसूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ ।आयोगको तथ्याङ्क शाखाका निर्देशक पूर्णबहादुर घर्ती मगरका अनुसार पुस १६ गतेदेखि आजसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातको जाँच गरिएको हो ।

रुजु गर्ने क्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आजै बेलुकासम्म पत्रमार्फत जानकारी गराइने उहाँले जानकारी दिनुभयो ।उहाँका अनुसार कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटि छुट्याएर दलहरूलाई सच्याउन पठाइने छ । भोलिदेखि यही पुस २७ गतेसम्म दलहरूले त्रुटि सच्याएर पुनः बन्दसूची पेश गर्न पाउनेछन् । अन्तिम सूची सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन सक्ने उहाँले बताउनुभयो ।समानुपातिक सूचीमा रहन नचाहने उम्मेदवारहरूले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् । त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिनेछ । दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली ठाउँमा नयाँ उम्मेदवार सिफारिश गरेपछि तयार हुने अन्तिम बन्दसूचीलाई निर्वाचन आयोगले सार्वजनिक गर्ने तथ्याङ्क शाखाका निर्देशक मगरले जानकारी दिनुभयो ।आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य चुनाव आउन अब ६० दिन बाँकी छ । संसद् पुनर्स्थापनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइकै क्रममा रहेको र मुख्य दलहरूमा चुनाव हुनेरनहुनेबारेको आशङ्काकै बीच चुनावका कामहरू तीव्र रूपमा भइरहेका छन् ।विशेषगरी निर्वाचन आयोगले आफ्नो पूर्वनिर्धारित कार्यतालिका अनुसार काम गरिरहेको छ भने सरकारले पनि सुरक्षाको बन्दोबस्त, आयोगलाई खर्च उपलब्ध गराउने, दलहरूसँग छलफल लगायतका कामलाई प्राथामिकताका साथ गरिरहेको छ ।

मुख्य सबै दलसहितका ६४ वटा राजनीतिक दलले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगले माघ ६ गते गर्ने प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन दर्ताका लागि गर्नुपर्ने काम समय अनुसार भइरहेका जनाएको छ । दलहरूले पनि निर्वाचन क्षेत्रबाट सिफारिशको काम गरिरहेका छन् ।आयोगले आचारसंहिता बनाइसकेको छ । मतदाता नामावली र परिचयपत्र छपाइ तथा आवश्यक सामग्री खरिद प्रक्रिया शुरू भइसकेको पनि आयोगले जनाएको छ । यसरी प्राविधिक रूपमा आयोग र सरकारले समय तालिका अनुसार काम गरिरहेका छन् । दलहरूले पनि आयोगको तालिका पछ्याएको पाइन्छ । तर अझै पनि संसद् पुनर्स्थापना हुन सक्ने आशामा एकाथरि देखिन्छन् भने मुख्य दलहरूले सरकारले चुनावको वातावरण बनाइनसकेको आरोप लगाइरहेका छन् ।तर चुनावका लागि बाटो सफा हुँदै गएको पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले बताउनुभयो । उहाँका अनुसार नयाँ पुराना दलका गतिविधिहरूले चुनावी वातावरण बनेको छ भने सरकारले गरेका छलफलहरूले आशङ्का मेटिँदैछन् ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार  १७ : ४६  बजे