वन हेरालु हत्या प्रकरण: भेटिएन टाउको

काठमाडौँ, २० पुस २० ।  सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राइटरखोरमा वीभत्स हत्या गरिएका वन हेरालु (चौकीदार) को टाउको आइतबार बिहानसम्म पनि फेला पर्न सकेको छैन ।सागरनाथ वन विकास परियोजनामा ज्यालादारीमा वन हेरालुको काम गर्ने राइटारखोरका ४७ वर्षीय रामइश्वर महतोको शनिबार हत्या भएको थियो । शनिबार बिहान ५ बजेतिर जङ्गलभित्र रुख काटेको आवाज आएपछि साइकल चढेर गस्तीमा निस्कनुभएका महतो दिउँसो मृत अवस्थामा फेला पर्नुभयो ।

धारिलो हतियारले वीभत्स हत्या गरिएका महतोको टाउको आइतबार बिहानसम्म पनि फेला पर्न नसकेको हो । महतोको टाउको बिनाको शव फेला परेको स्थान नजिक पोखरी रहेको छ ।उहाँको हत्यापछि टाउको त्यहीँ फालेको हुन सक्ने आशङ्कामा खोजी गर्न लागिएको छ । प्रहरीले शनिबार राति नै माछा मार्न जान्ने मानिसहरुलाई प्रयोग गरेर पोखरीभित्र जाल हान्न खोजेको थियो, तर बाक्लो हस्सु, कुहिरो र शीतलहरका कारण राति सम्भव भएन ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवम् डिएसपी सरोज राईले अब अहिले बिहान जाल हान्ने मान्छे ल्याएर मृतकको टाउको खोजी गर्न लागिएको बताउनुभयो । प्रहरीले मृतकको टाउको गिँडिएको शव भने पोष्टमार्टमका लागि शनिबार मध्यराति प्रादेशिक अस्पताल मलङ्गवा लगिसकेको छ ।

घटनास्थलबाट रगत लतपतिएको एक थान बन्चरो बरामद भएको डिएसपी राईले बताउनुभयो । वनका चौकीदार महतोको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले शनिबार दिउँसो नै राइटरखोरकै एक स्थानीयलाई पक्राउसमेत गरेको छ ।प्रहरीले ति शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको विषयमा केही खुलाएको छैन । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले शङ्कास्पद एक जना व्यक्ति पक्राउ परेका पुष्टी गर्नुभएको हो ।सिडिओ कडरियाका अनुसार शङ्कास्पद व्यक्तिको कपडामा समेत रगत लतपतिएको पाइएको छ । पक्राउ गर्ने बेला नशालु पदार्थ सेवन गरेको अवस्थामा लठ्ठ रहेका ति व्यक्तिलाई अब अहिले बिहान प्रहरीले बयान लिने सिडिओ कडरियाको भनाइ छ ।

पोखरीमा जाल हानेर मृतकको टाउको खोज्न लाग्दा आइतबार बिहानैदेखि स्थानीयको भीड भइसकेको छ । प्रहरीले मध्यरातमा शव उठाउँदासम्म पनि स्थानीयहरु घटनास्थलमै बसे ।ईश्वरपुर नगरपालिका २ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले स्थानीयसमेत भएर मृतकको टाउको खोजी गर्न सहयोगका लागि तयार भएर बसेका बताउनुभयो । उहाँका अनुसार निर्ममतापूर्वक वन हेरालुको हत्यापछि स्थानीय वासिन्दा त्रसित र स्तब्ध छन् ।वन हेरालुको हत्याको कारण खुलिसकेको छैन् । वनमा काठ तस्कर गर्ने व्यक्ति र व्यक्तिगत रिसइबी भएका व्यक्ति कस्ले हत्या गरेका हुन भन्ने विषयमा अनुसन्धान जारी नै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।वन हेरालु महतोको बीभत्स किसिमले हत्या गरिएको अवस्थामा टाउको गिँडेको शव फेला पर्नासाथ धनुषाको लालगढमा रहेको नेपाल प्रहरीको गणबाट तालिमप्राप्त दुईवटा कुकुरसमेत ल्याएर घटनास्थल वरपर घुमाइएको छ । मृतकाको टाउको फेला परे प्रहरी अधिकारीहरु घटनाको अझ सुक्ष्म अनुसन्धानमा केन्द्रित हुन पाउने जिल्लाका एक सुरक्षा प्रमुखले बताउनुभएको छ ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार  ०९ : ५७  बजे