दाउन्नेमा सहज रूपमा गाडी चल्न थाले

काठमाडौं, १७  पुस ।  शीतका कारण सडक भिजेर हिलो भएपछि गाडी चलाउन समस्या भएको पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डमा हिजो दिउँसोदेखि सहज रूपमा गाडी चल्न थालेका छन् ।तीन दिनदेखि सडक चिप्लो भएपछि गाडी चल्न सकेका थिएनन् । जसका कारण लामो जाम भएको थियो । यात्रुहरूले झन्डै ३०–३२ घण्टा जाममा बस्नुपर्ने अवस्था थियो ।

दाउन्ने प्रहरी चौकीका अनुसार अहिले दुईतर्फी रूपमा सहजै गाडी चल्न थालेका छन् । सडक खण्ड निर्माणाधीन रहेकोले शीत धेरै परेको बेला ठूला र मालबाहक गाडी उकालो चढ्न समस्या हुने गरेको छ ।दाउन्ने खण्डको १४ किलोमिटर क्षेत्र मात्रै पार गर्न पनि ५ देखि ६ घण्टा लाग्ने गरेको छ । बुटवल–नारायणगढ सडकखण्ड १ सय ७० किलोमिटर छ ।

निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्नेमा सहज यात्रा गर्ने गरी अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन । शीतका कारण सडक चिप्लो हुँदा गाडी चलाउन समस्या हुँदै आएकोमा गिट्टी राखिएको छ ।यसैबीच नारायणगढ–बुटवल सडक योजना ९पश्चिम खण्ड० ले सूचना प्रकाशित गर्दै यो सडकको विकल्प खोज्न आग्रह गरेको छ । सडकखण्डमा आवश्यक मर्मतसम्भार समेत भइरहेको भन्दै आयोजनाले अत्यावश्यक गाडी बाहेक अन्य गाडीलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ । साथै गाडी सञ्चालन गर्दा लेनमा रही ट्राफिक नियम पूर्ण पालना गर्न समेत भनिएको छ ।सडकको केही ठाउँमा कल्भर्ट तथा सडक ढलानको काम भइरहेकाले एकतर्फी सडक सञ्चालन हुँदै आएको छ । यो सडकको वैकल्पिक सडकको रूपमा पूर्व–पश्चिम राजमार्ग हुँदै आउने र जाने गाडीका लागि नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल निस्कन अनुरोध गरिएको छ ।यस्तै कालीगण्डकी चोक ९गैँडाकोट० रामपुर पिपलडाँडा हुँदै गाडी चलाउन सकिन्छ । त्यस्तै काठमाण्डौबाट बर्दघाट पश्चिम जाने र बुटवल–काठमाण्डौ गर्नेले काठमाण्डौ–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सकिन्छ ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार  ०९ : ५९  बजे