काठमाडौँ, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सक्रिय जेन–जेड अगुवा रक्षा बमले समानुपातिक प्रतिनिधित्व प्रणालीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले दलहरूले समानुपातिक सूचीलाई सांसद पद बिक्री गर्ने तथा आफ्ना नातेदार भर्ती गर्ने केन्द्रका रूपमा प्रयोग गरेको आरोप लगाउनुभएको छ।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै रक्षा बमले निर्वाचन आयोगमा बुझाइएका समानुपातिक बन्द सूची देखेर मन खिन्न भएको बताउनुभएको हो। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीले बुझाएको सूचीप्रति असन्तुष्टि जनाउँदै उहाँले सभापति रवि लामिछानेको गृहजिल्ला चितवनबाट मात्रै २१ जना उम्मेदवार समेटिँदा सुदूरपश्चिमबाट भने दुई जनामात्रै समावेश गरिएको तथ्य औँल्याउनुभएको छ।
उहाँले संविधानले समानुपातिक प्रतिनिधित्वको व्यवस्था सदियौँदेखि पछाडि पारिएका समुदाय, भूगोल र वर्गको आवाज संसद्मा प्रतिनिधित्व गराउने उद्देश्यले गरेको स्मरण गराउनुभएको छ। “निश्चित वर्गको हालीमुहाली तोड्न, असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायहरूको उत्थान गर्न यो प्रणाली लागू गरिएको हो,” उहाँले लेख्नुभएको छ, “तर दुखद कुरा के छ भने आज यही समानुपातिक प्रणालीलाई दलहरूले सांसद पद बिक्री गर्ने र आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन्।”
हजारौँको बलिदानबाट प्राप्त समानुपातिक प्रतिनिधित्व प्रणाली दलहरूले नै कमजोर बनाइरहेको भन्दै उहाँले हाल सार्वजनिक भएका समानुपातिक सूचीहरूले गहिरो निराशा दिएको उल्लेख गर्नुभएको छ।
रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह तथा ऊर्जा मन्त्री कुलमान घिसिङलाई एकै ठाउँमा ल्याउन भूमिका निर्वाह गर्नुभएकी रक्षा बमले पछिल्लो समय उहाँहरूको कार्यशैलीप्रति समेत असन्तुष्टि व्यक्त गर्नुभएको छ। यद्यपि उहाँले कुनै दल वा नेताको नाम किटान गरेर उल्लेख गर्नुभएको छैन।
सुदूरपश्चिमप्रति राज्यको व्यवहारप्रति पनि उहाँले प्रश्न उठाउनुभएको छ। “मेरो सुदूर अझै पनि सुदूर नै छ,” उहाँले लेख्नुभएको छ, “त्यहाँका मानिस, त्यहाँका समुदाय र वर्षौँदेखि राजधानीबाट अपहेलित एउटा भूगोल पनि यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन्।”
उहाँले सत्तालाई स्मरण गराउँदै थप्नुभएको छ, “यो देशको सत्तालाई सम्झाउनै पर्नेछ कि सुदूर पनि यही देशको मानचित्रमा पर्छ।”
उल्लेखनीय छ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह रास्वपामा समाहित हुँदा रक्षा बमलाई जेन–जेड समूहहरूबीच समन्वय र व्यवस्थापनको जिम्मेवारी दिइएको थियो।








प्रतिक्रिया