आज छानिबन आयोगमा बयान दिन जाँदै रमेश लेखक

काठमाडौं, १४ पुस ।  पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी सत्यतथ्य छानबिनका लागि गठित जाँचबुझ आयोगमा जाँदैहुनुहुनछ । उक्त घटनाका सम्बन्धमा आफ्नो तर्फबाट जानकारी गराउन उनी सोमबार मध्यान्ह १२ बजे आयोगको कार्यालय सिंहदरबार जान लाग्नुभएका हो।

लेखकको सचिवालयका अनुसार सो संवेदनशील घटनाको पृष्ठभूमि र यथार्थ विवरणबारे आयोगले गरिरहेको अनुसन्धानमा सहयोग पुर्‍याउन उहाँ आयोगको कार्यालय जान लाग्नुभएको हो । जाँचबुझ आयोगले सो समयमा गृह प्रशासनको नेतृत्व सम्हालेका लेखकसँग घटनाको वस्तुस्थितिबारे सोधपुछ गर्ने बताइएको छ । आयोगले यसअघि नै लेखकलाई बयानमा आउन पत्राचार गरेको थियो । यसैबीच, आयोगमा आफ्नो भनाइ राखेर फर्किएपछि लेखकले सोही विषय र पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन पत्रकार सम्मेलनको समेत आयोजना गर्नुभएको छ । सोमबार दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन तय गरिएको उहाँको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार  ०८ : ०९  बजे