नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौं, २४ कातिक । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त हुनुभएको छ । उहाँ काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत हुनुहुन्छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।

त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । २४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हाल्नुभएको थियो ।

२३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख हुनुहुन्थ्यो । डीआईजी हुँदा भने उहाँले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाल्नुभएको थियो । एसएसपीको जिम्मेवारीमा उहाँले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो । चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हाल्नुभएका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाउनुभएको छ । कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ । विदेशमा विभिन्न तालिम लिइसकेका उहाँ नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत हुनुभएको थियो ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, सोमबार  १९ : ०५  बजे