सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर २ जना पक्राउ परेका छन् । सोमबार रौतहट र चितवनमा भएका सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको हो ।

रौतहटको वृन्दावन नगरपालिका–७ धमौरा चोक नजिक सडकमा चपुरबाट धमौरातर्फ जाँदै गरेको म.प्र.०३–०३१ प ८०१४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–७ सखुअवा टोल बस्ने ७० वर्षीया दुखिया देवीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिका–१ पुलचोकस्थित सडकमा ना.२ ह ५०२८ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ बस्ने ६० वर्षीया अस्तापमा खातुनको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, सोमबार  १६ : ३०  बजे