हिरासतबाट भागेका स्वर्णलक्ष्मीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न ज्ञान बहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनी भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतबाट भागेका थिए ।

बम्जनलाई काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न अराेपमा पक्राउ गरेर प्रहरीले उनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । जेनजी प्रदर्शनको मौका छोपेर उनी भागेका थिए ।

सिन्धुलीको दुधौली नगरपालिका–७ घर भएका ५४ वर्षीय बम्जन गीतेन्द्रबावु राई (जीबी)का जेठान हुन् । पोखरामा सञ्चालित सूर्यदर्शन सहकारीको रकम घोटाला प्रकरणमा उनलाई अदालतले १० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०८१ पुस २१ मा रास्वपा सभापति रवि लामिछाने सहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । त्यसबेला बम्जन प्रतिवादीको सुचीमा थिए । प्रहरीले बम्जनविरुद्ध पूरक अनुसन्धान पेस गर्ने तयारी गरिरहेको छ । मुलुकी कार्यविधि संहिता–२०७४ को दफा ३५ अनुसार नाम, थर र वतन नखुलेको अवस्थामा छुट्टै अनुसन्धान प्रतिवेदन पेस गर्नसक्ने व्यवस्था छ ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, आइतबार  १२ : ४२  बजे