लेखनाथ (कास्की), २३ कात्तिक । पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा पूजाआजा र दर्शन गर्न भक्तजन दैनिक भीड लाग्ने गर्छ । विसं २०७२ को विनाशकारी भूकम्पले उक्त मन्दिर तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुनर्निर्माण थालनी गरिएको थियो । मन्दिरको पुनर्निर्माण ८० प्रतिशत सकिएको जानकारी तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष परशुराम पहारीले दिनुभयो । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय छ । उहाँले फेवातालको मध्यभागको ढिस्कोमा मन्दिर रहेकै कारण मन्दिर ढल्कँदा झनै जोखिम सृजना भएकाले पुनर्निर्माण गर्नुपरेको बिताउनुभयो ।
जोखिम बढ्दै गएपछि ढल्किएको मन्दिर पुनर्निर्माणका लागि बाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागले पुनर्निर्माणका लागि काम अगाडि बढाएको हो । भूकम्पकै कारण मन्दिर छेउमा रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा हटाइसकिएको थियो । विसं २०१७ मा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरेका थिए । पोखराको लेकसाइड आउने पर्यटकको मुख्य गन्तव्यका रूपमा फेवातालको मध्यभागमा अवस्थित तालवाराही मन्दिर रहने गर्छ । पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनर्निर्माण गर्न लागिएको हो । मन्दिर पुनर्निर्माण सम्पन्न गर्न रु एक करोड ८४ लाख लाग्ने जानकारी अध्यक्ष पहारीले दिनुभयो । प्यागोडा शैलीमै कालिगढ भक्तपुर र ललितपुरबाट मगाएर वर्तमान स्वरुपमै मन्दिर पुनर्निर्माण गर्न लागिएको हो ।
मन्दिर पुनर्निर्माण गर्न पुरातत्व विभागले रु छ लाख दिएको छभने अन्य रकम तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिको कोषबाट र भक्तजनबाट सहयोग जुटाएर पुनर्निर्माण सम्पन्न गरिनेछ । पुनर्निर्माण एक वर्षभित्र सक्ने भनिएको भए तापनि विविध कारणले पुनर्निर्माण सम्पन्न गर्न दुई वर्ष लागेको छ । तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीका अनुसार आउँदो वैशाखभित्र सर्वसाधारण भक्तजनले दर्शन र पूजाआजा गर्न सक्नेगरी पुनर्निर्माण सक्नेगरी तयारी गरिएको छ । मुख्य काम मन्दिरको छानो छाउने र वरपरको रेलिङ निर्माण बाँकी छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाइ मन्दिर स्थापना गरेको बताइन्छ । यस मन्दिरको अस्तित्व १६६९ सालदेखि कायम रहिआएको छ । कतैकतै १४४७ सालदेखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ ।
प्राचीनकालमा माटोको ढिस्कामा एउटा शिला थियो त्यहींँ मन्दिर स्थापना गरी वाराहीका रूपमा पुजिन थालिएको मन्दिरका पुजारी उमेश पहारीले सुनाउनुभयो । पर्यटकीय नगरी पोखरास्थित यो मन्दिर कास्कीका घुम्नैपर्ने ठाउँको सूचीमा अग्रपङ्क्तिमा आउँछ । यसकारण मन्दिरमा पर्यटकको घुइँचो लागिरहन्छ । माछापुच्छे हिमालको छायाँ फेवातालमा परेको मन्दिरबाट मनोरम दृश्य देख्नुका साथै पर्यटकीय गन्तव्य सराङकोट, पुम्दीकोट, कास्कीकोट दरबारलगायतका स्थान यहाँबाट देख्न सकिन्छ । कोजाग्रत पूर्णिमालगायत अन्य धार्मिक पर्वमा यहाँ मेला लाग्छ, पुजारी पहारीले भन्नुभयो । यस्तो छ किंवदन्ती स्थानीय अग्रज ८० वर्षीय रमेशबहादुर भट्टराईका अनुसार परापूर्वकालमा फेवाताल भएको ठाउँमा बस्ती रहेको र एक दिन बेलुका एक वृद्ध जोगी बास माग्दै त्यस बस्तीमा आए, कसैले बास नदिएपछि उनी एक वृद्धाकामा पुगे । वृद्धाले बास बस्न दिइन् ।
तर खान भने ढुटोको रोटीमात्र भएको सुनाइन् । वृद्ध जोगी तयार भएर त्यही खाएर सुते । घरबाहिरै सुतेका जोगीले बिहान हिँड्नु अगाडि वृद्धालाई भने, “यो गाउँ चाँडै जलमग्न हुनेछ । तपाईँ भने अग्लो ठाउँमा चाँडै जानु ।” जोगी हिँडेको केही समयमा आवाज आयो । आवाजसँगै पानी बढेर आयो । बस्तीमा पानी आउन थाल्यो । जोगीको सल्लाहअनुसार वृद्धा अग्लो ठाउँमा गएर बाँचिन् । फेरि एक दिन विशाल वर्षा आयो । वर्षापछिको डुबानले मूर्ति बगाएर अहिलेको मन्दिर भएको ठाउँमा ल्यायो । तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ । फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ ।
त्यही तालको मध्यभागमा अवस्थित पुरानो मन्दिर तालवाराही भगवतीको पूजाआजाको प्रारम्भ १४६७ सालबाट भएको हो भने १८६८ सालबाट नित्य पूजाआजा सुरु भएको जानकारी मन्दिरका सूचना अधिकारी राजेन्द्र खत्रीले दिनुभयो । सामान्य अवस्थामा रहेको मन्दिरलाई झुप्रोबाट उठाउन तत्कालीन राजा महेन्द्रले २०१७ सालमा सुरु गरेका थिए । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो । मन्दिर व्यवस्थापन समितिको स्थापना भने २०५३ सालमा आएरमात्र भएको थियो । हिक्मतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ ।
प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जोकोहीलाई आनन्दित तुल्याउनुका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ । कुल तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षण र गुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ । तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउने गरेको जानकारी पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बताउनुभयो । तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको उहाँले बताउनुभयो । मन्दिर गुठीका नाउँमा खेत र केही रोपनी जङ्गलसमेत रहेको छ ।








प्रतिक्रिया