रामेछाप, २२ कात्तिक । बेमौसमी वर्षाले रामेछाप जिल्लामा ८७ हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धान बालीमा ठुलो क्षति पुर्याएको छ । वर्षाले खेतमा पानी जम्दा काटिएको धान बाली नष्ट हुँदा किसानले नोक्सानी ब्यहोर्नु परेको छ ।
कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोदप्रसाद दाहालका अनुसार बेमौसमी वर्षाका कारण जिल्लामा करिब १३९ मेट्रिक टन धान बाली नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । ‘यसबाट किसानलाई करिब ६० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुगेको अनुमान गरेका छौँ’, उनले भने ।
सबैभन्दा बढी क्षति खाँडादेवी गाउँपालिकामा भएको छ । यो पालिकामा ६२ हेक्टर क्षेत्रमा लगाइएको धानमध्ये ११४ मेट्रिक टन बाली नष्ट भइ किसानले ३५ लाख रुपैयाँ बराबरको क्षति ब्यहोर्नु परेको दाहालले जानकारी दिए ।
त्यसैगरी, लिखुतामाकोशी गाउँपालिकामा करिब २५ हेक्टर क्षेत्रफलमा बाली नष्ट भई २७ लाख रुपैयाँ बराबरको क्षति भएको कृषि विकास कार्यालयले जनाएको छ ।
रामेछापमा रहेका ८ वटा स्थानीय तहमध्ये सुनापति गाउँपालिकामा धानबालीमा कुनै क्षति नपुगेको भए पनि बाँकी अन्य २ नगरपालिका र ३ गाउँपालिकामा करिब ३० हेक्टर क्षेत्रफलमा धानबाली क्षति भएको प्रारम्भिक विवरण कार्यालयले सङ्कलन गरेको छ ।
प्रमुख दाहालका अनुसार क्षतिको विस्तृत विवरण बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाउने तयारी भइरहेको छ । प्रदेश सरकारले किसानलाई राहतस्वरूप २० हेक्टर बराबरमा ३० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । अहिले क्षतिग्रस्त कृषकको पहिचान भइरहेको र राहत वितरणका लागि तयारी भइरहेको उनले जानकारी दिए ।
रामेछापमा कुल ८ हजार ६ सय १५ हेक्टर धान खेतीयोग्य जमिन रहेको छ । यस वर्ष सो क्षेत्रफलको करिब ९५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको थियो । जिल्लामा धानको औसत उत्पादकत्व प्रतिहेक्टर २ दशमलव १७ मेट्रिक टन रहेको कृषि विकास कार्यालयका तथ्याङ्कले देखाउँछ ।
स्थानीय किसानहरूका अनुसार बेमौसमी वर्षाले खेतमा काटेको मात्र होइन काट्न नपाएको धान ढल्ने, कुहिने लगायतको समस्या देखिएको छ । उनीहरूले प्रदेश सरकारसँग राहत तत्काल उपलब्ध गराइदिन माग गरेका छन् ।
कृषि विकास कार्यालय रामेछापले किसानहरूको क्षति मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको र राहतका लागि प्रस्ताव छिट्टै पठाइने जनाएको छ ।








प्रतिक्रिया