पक्राउ पुर्जीबिनै पूर्वप्रधानन्यायाधीश जबरा प्रहरी हिरासतमा

काठमाडौं, असोज ११ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई शनिबार राति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो ।

स्रोतका अनुसार अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का आफैं जबरालाई पक्राउ गर्न उहाँको निवास पुग्नुभएको थियो ।

तर जबराविरुद्ध कुनै मुद्दा दर्ता नभएको र उहाँलाई पक्राउ गर्न कानुनबमोजिम पक्राउ पुर्जीसमेत जारी नभएको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउपछि जबरालाई काठमाडौंकै एक प्रहरी कार्यालयको हिरासतमा राखिएको स्रोतको भनाइ छ । उहाँलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको हिरासतमा भने नराखिएको जनाइएको छ ।

स्रोतका अनुसार राति आएको मौखिक आदेशपछि जबरालाई पक्राउ गरिएको हो । अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी खड्का कार्यालयबाहिर रहेका बेला आदेश आएपछि उहाँ आफैं जबरालाई पक्राउ गर्न महाराजगञ्ज पुग्नुभएको स्रोतले जनाएको छ ।

जबराको पक्राउबारे प्रहरीले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन ।

यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले जबराविरुद्धको महाभियोगसम्बन्धी रिट खारेज गर्दै महाभियोग प्रक्रियाको कानुनी विवाद टुंग्याएको थियो । त्यसपछि उहाँले अवकाशपछि पाउने पेन्सन तथा अन्य सुविधा पाउने बाटो खुलेको थियो ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार  ०७ : १५  बजे