काठमाडौं, असोज ८ । चिनियाँ राष्ट्रपति सी जिनपिङ तीनदिने राजकीय भ्रमणका क्रममा अमेरिका पुग्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीलाई वासिङ्टनस्थित संयुक्त सैन्य अखडा एन्ड्र्युजमा पुगेर स्वागत गर्नुभएको छ।
विदेशी राष्ट्रप्रमुखलाई अमेरिकी राष्ट्रपतिले विमानस्थलमै पुगेर स्वागत गर्नु असामान्य कूटनीतिक प्रोटोकलका रूपमा लिइन्छ। एक दशकभन्दा बढी समयपछि सीको पहिलो अमेरिका भ्रमण भएकाले यसलाई उच्चस्तरीय कूटनीतिक भ्रमणका रूपमा हेरिएको छ।
भ्रमणका क्रममा ट्रम्प र सीबीच अमेरिका–चीन सम्बन्धका संवेदनशील विषयमा प्रत्यक्ष छलफल हुने अपेक्षा गरिएको छ। व्यापार, अमेरिकी कर तथा चिनियाँ निर्यात, दुर्लभ खनिज, कृत्रिम बुद्धिमत्ता (एआई), सेमिकन्डक्टर चिप, ताइवान र इरानसँग सम्बन्धित विषय वार्ताका प्रमुख एजेन्डा बन्नेछन्।
भ्रमणको मुख्य विषय अमेरिका–चीन व्यापार सम्बन्ध रहने अपेक्षा गरिएको छ। दुई देशबीचको व्यापार तनाव कम गर्न यसअघि भएको व्यापार युद्धविराम नोभेम्बरमा सकिँदैछ।
वार्ताका क्रममा अमेरिकी पक्षले चिनियाँ बजारमा अमेरिकी उत्पादनको पहुँच, दुर्लभ खनिजको निर्यात र व्यापार असन्तुलनका विषय उठाउने अपेक्षा गरिएको छ। ताइवानका विषयमा पनि दुवै पक्षले आ–आफ्ना धारणा राख्नेछन्।
विश्वका दुई ठूला आर्थिक तथा सैन्य शक्तिका राष्ट्रप्रमुखबीच हुन लागेको भेटलाई अन्तर्राष्ट्रिय रूपमा महत्वपूर्ण मानिएको छ।











प्रतिक्रिया