देवानगञ्जमा गोली चल्दा युवक घाइते, विराटनगरमा उपचार हुँदै

काठमाडौं, ३ असोज । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा गोली चल्दा एक युवक घाइते भएका छन् ।

गोली लागेर घाइते भएका युवकलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको छ । उनको तिघ्रामा गोली लागेको जनाइएको छ ।

घाइते युवकको पहिचान भने खुलिसकेको छैन ।

स्थानीयले गोली चलेको खबर गरेपछि प्रहरी घटनास्थलतर्फ गएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभएको छ ।

घटना के कारणले भएको हो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उहाँले बताउनुभएको छ ।

प्रहरी घटनास्थल पुगेपछि घटनाबारे थप विवरण खुल्ने जनाइएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार  १८ : ५७  बजे