डा. सुनील शर्मा कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध

काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्मा कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

मोरङको बेलबारी नगरपालिका–४ बाट उहाँ क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको हो । क्षेत्रीय प्रतिनिधि निर्वाचित भएसँगै डा. शर्माको कांग्रेसको १५औँ महाधिवेशन यात्रा औपचारिक रूपमा अघि बढेको छ ।

कांग्रेस राजनीतिसँगै स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय रहनुभएका शर्माले लामो समयदेखि विपन्न तथा उपचारको पहुँचबाट वञ्चित नागरिकका लागि विभिन्न सेवा तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । आर्थिक अभावका कारण उपचार गर्न नसक्ने बिरामीका लागि निःशुल्क उपचार, शल्यक्रिया तथा स्वास्थ्य शिविर सञ्चालनदेखि अवसरबाट वञ्चित विद्यार्थीलाई शैक्षिक सहयोग गर्ने काममा उहाँ सक्रिय रहनुभएको छ ।

हालै गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व सम्हाल्नुभएका शर्माले फाउन्डेसनमार्फत स्वास्थ्य र शिक्षामा पहुँच विस्तार गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुभएको छ । फाउन्डेसनको नेतृत्व सम्हालेपछि उहाँले यस वर्ष आर्थिक अभावका कारण उपचार गर्न नसक्ने देशभरका एक हजार बिरामीको मेजर शल्यक्रिया निःशुल्क गर्ने घोषणा गर्नुभएको छ ।

शर्माको स्वास्थ्य सेवासँग जोडिएको सामाजिक सक्रियता मोरङसहित देशका विभिन्न क्षेत्रमा देखिँदै आएको छ । निःशुल्क स्वास्थ्य शिविर, विपन्न बिरामीको उपचार तथा विद्यार्थीलाई शैक्षिक सहयोगजस्ता गतिविधिमार्फत उहाँले सामाजिक सेवामा निरन्तरता दिँदै आउनुभएको छ ।

गिरिजाप्रसाद कोइरालासँगको आफ्नो राजनीतिक तथा व्यावसायिक सम्बन्धलाई समेत शर्माले सार्वजनिक रूपमा स्मरण गर्दै आउनुभएको छ । फाउन्डेसनको नेतृत्व सम्हाल्ने क्रममा उहाँले गिरिजाप्रसाद कोइरालाको लोकतान्त्रिक विरासतलाई सामाजिक सेवाका माध्यमबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

बेलबारी नगरपालिका–४ बाट शर्मासहित महाधिवेशनका लागि चयन हुने प्रतिनिधिहरू सर्वसम्मत भएका छन् । वडा तहमा प्रतिनिधि चयन सर्वसम्मत भएपछि कांग्रेसको स्थानीय संगठनमा सहमति र समझदारी कायम रहेको स्थानीय नेताहरूले बताएका छन् ।

क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएसँगै डा. शर्मा अब कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतका आगामी प्रक्रिया र नेतृत्व चयनको यात्रामा अघि बढ्नुहुनेछ ।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार  १५ : ४३  बजे