काठमाडौं, ३ असोज । भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो । दोलखाको कालिञ्चोक गाउँपालिका–२, बाबरेमा २०४२ साल जेठ १४ गते जन्मिनुभएका थामीको प्रतीकात्मक शवमा उहाँका पिता डीलबहादुर थामीले दागबत्ती दिनुभएको थियो ।
दुई दशकभन्दा लामो समय पत्रकारितामा सक्रिय रहनुभएका थामीले एचबीसी एफएम, सगरमाथा टेलिभिजन, एबीसी टेलिभिजन हुँदै नयाँ पत्रिकामा काम गर्नुभएको थियो । पत्रकारितामा स्नातकोत्तर गर्नुभएका ४१ वर्षीय थामीले बागीश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पत्रकारिता अध्यापन गर्नुका साथै पत्रकारिता प्रशिक्षण तथा लेखनमा समेत योगदान पुर्याउनुभएको थियो ।
गोरखापत्र दैनिकको थामी भाषा पृष्ठको संयोजकसमेत रहनुभएका थामी नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य, नेपाल थामी समाजका पूर्वउपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का पूर्वकोषाध्यक्ष हुनुहुन्थ्यो ।
चीनको स्वशासित क्षेत्र सिचाङको केरुङमा भदौ १० गते आयोजना हुने ‘साउथ एसिया रिसर्च सेन्टर इन साउथवेस्ट चाइना’ कार्यक्रममा सहभागी हुन उहाँ भदौ ९ गते साँझ आफ्नै मोटरसाइकलबाट रसुवाको धुन्चे हुँदै रसुवागढी पुग्नुभएको थियो ।
अन्त्येष्टिका क्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले थामीको प्रतीकात्मक शवमा महासंघको झण्डा ओढाउनुभएको थियो । नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीसहित उपस्थित विभिन्न क्षेत्रका व्यक्तित्व तथा सहकर्मीहरूले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
अन्त्येष्टिमा पूर्वमन्त्रीहरू पार्वत गुरुङ र आनन्द पोखरेल, राष्ट्रिय समाचार समिति र नयाँ पत्रिकाका सम्पादकीय नेतृत्व, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, फोनिजका अध्यक्ष लक्की चौधरीसहित पत्रकारिता, सामाजिक, राजनीतिक तथा कानुन क्षेत्रका अगुवा र सहकर्मीहरूको उपस्थिति थियो ।
स्वर्गीय थामी राष्ट्रिय समाचार समितिकी पत्रकार कालिका खड्काका श्रीमान् हुनुहुन्थ्यो ।











प्रतिक्रिया