नेपाललाई कुबाटोमा धकेल्न विभिन्न शक्ति सक्रिय छन् : अध्यक्ष ओली

काठमाडौं, असोज ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई कुबाटोमा धकेल्न विभिन्न प्रकारका शक्तिहरू सक्रिय रहेको आरोप लगाउनुभएको छ ।

संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । नेपाललाई गलत दिशातर्फ लैजान विभिन्न शक्ति सक्रिय रहेको र उनीहरूले खुलेरै गतिविधि गरिरहेको उहाँको दाबी छ ।

ओलीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले समेत निर्वाचनको मौन अवधिमा गलत सूचना सम्प्रेषण गरेर नेपाललाई गलत बाटोतर्फ धकेल्ने प्रयास गरेको आरोप लगाउनुभएको छ । उहाँले २१ फागुनमा सम्पन्न निर्वाचनलाई लक्षित गर्दै यस्तो आरोप लगाउनुभएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले लोकतान्त्रिक विधि, प्रक्रिया र प्रणालीलाई कमजोर बनाउन गत वर्ष भदौ २३ र २४ गते नेपालमा ‘षड्यन्त्रपूर्ण उपद्रव’ आयोजना गरिएको दाबीसमेत गर्नुभएको छ ।

उहाँले उक्त आन्दोलनमा को–को र कस्ता पक्ष संलग्न थिए भन्ने विषय विस्तारै खुल्दै गएको जिकिर गर्नुभएको छ । यसबारे विभिन्न व्यक्ति तथा माध्यमबाट विवरण सार्वजनिक हुँदै गएको उहाँको भनाइ छ ।

ओलीले संविधान जारी भएपछिका वर्षहरूमा संविधानको रक्षा र कार्यान्वयनका क्रममा अनेकौँ चुनौतीको सामना गर्नुपरेको बताउनुभएको छ । लोकतन्त्रलाई संस्थागत गर्दै अघि बढ्ने क्रममा ठूला तथा निरन्तर चुनौती र आक्रमणको सामना गर्नुपरे पनि संविधानको रक्षा र कार्यान्वयन गर्दै आएको उहाँले बताउनुभयो ।

संविधान दिवसका अवसरमा ओलीले संविधानको रक्षा, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र राष्ट्रिय हितका विषयमा पार्टी नेता–कार्यकर्तालाई थप सक्रिय हुनसमेत आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार  १२ : ४०  बजे