काठमाडौं, ३ असोज । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम र पद दुरुपयोग गरी १५६ जनालाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामेछापका भरत चौलागाईं र दोलखाकी बालिका सिवाकोटी रहेका छन्। उनीहरूले सन् २०२४ मा वैदेशिक रोजगारीका लागि इजरायल पठाउन लिइएको परीक्षामा सहभागी भएर छनोटमा नपरेका व्यक्तिहरूलाई इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोप छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार उनीहरूले १५६ जनाबाट जनही ६ लाख २० हजार रुपैयाँका दरले करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ अन्तर्गत ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।











प्रतिक्रिया