काठमाडौं, २ असोज । सरकारले विभिन्न १३ मुलुकका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, चीनसहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।
भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापालाई सिफारिस गरिएको छ।
त्यस्तै, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जबरालाई सिफारिस गरिएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार विभिन्न क्षेत्रका अनुभवी तथा विज्ञ व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरिएको हो। प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि पठाइनेछ।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट एग्रिमो मागिनेछ। एग्रिमो प्राप्त भएपछि उनीहरूलाई राजदूतमा नियुक्त गरिनेछ।
सरकारले जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई पनि राजदूतमा सिफारिस गरेको छ।
प्रस्तावित राजदूतहरूमा परराष्ट्र तथा कूटनीति, सुरक्षा, अर्थतन्त्र, अन्तर्राष्ट्रिय विकास, श्रम तथा आप्रवासन, जलवायु परिवर्तन, समावेशीकरणलगायत क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्ति छन्।
डा. निश्चलनाथ पाण्डे परराष्ट्र मामिलाका जानकार तथा सत्य निरुपण तथा मेलमिलाप आयोगका विज्ञका रूपमा काम गरिसक्नुभएको छ। डा. कल्याणराज शर्मा नेपाल–चीन सम्बन्धका जानकार तथा अर्थशास्त्री हुनुहुन्छ भने चिरनजंग थापा सुरक्षा र कूटनीति मामिलाका जानकार हुनुहुन्छ।
पूर्वप्रधानसेनापति गौरवशम्शेर जबरा बेलायतका लागि सिफारिस हुनुभएको छ। जिग्यान कुमार थापा जापान मामिलाका जानकार, सुरेशकुमार कर्ण कम्प्युटर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष तथा प्राप्ति शेरचन अन्तर्राष्ट्रिय विकास तथा साझेदारी विज्ञ हुनुहुन्छ।
सरू जोशी श्रम, बसाइँसराइ तथा लैंगिक समानता, डा. पद्माक्षी राणा दिगो विकास तथा समावेशीकरण, चूडामणि खरेल अंग्रेजी भाषा तथा योग खेलकुद, प्रा. डा. सङ्गम श्रेष्ठ जलवायु परिवर्तन, डा. मंचल झा संक्रमणकालीन न्याय तथा शिक्षण क्षेत्र र गिरीबहादुर सुनार समाजशास्त्रका क्षेत्रमा कार्यरत हुनुहुन्छ।











प्रतिक्रिया