मकवानपुर, ३० भदौ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार दिउँसो करिब २ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको ईभी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।
ईभीमा चालकसहित आठ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित दुई पुरुष र दुई महिला घाइते भएका छन् ।
घाइतेमध्ये बाराको कलैया उपमहानगरपालिका–२४ का करिब २० वर्षीय चालक अमिर अन्सारीको अवस्था गम्भीर रहेको छ । टाउको, दायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेका उहाँलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, हेटौँडा उपमहानगरपालिका–११ की करिब २३ वर्षीया कल्पना तामाङको ढाड, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उहाँको अवस्था गम्भीर रहेको र ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।
बाराको महागढीमाई नगरपालिका–११ की करिब २१ वर्षीया बबियाकुमारी यादवको दायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
नाम, थर र ठेगाना नखुलेका करिब ३४–३५ वर्षीय एक पुरुषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बोल्न नसक्ने अवस्थामा रहेका उहाँको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।
दुर्घटनालगत्तै प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा ट्राफिकसहित २१ जनाको टोली घटनास्थल पुगेको थियो ।
उद्धारका लागि सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।











प्रतिक्रिया