एमालेको सरकारलाई आग्रह– विपत्तिमा ‘एक्लै काफी छु’ भन्ने घमण्ड नगर्नू

काठमाडौं, भदौ ३० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विपत्तिको समयमा सरकार एक्लैले सबै काम गर्न सक्छु भन्ने मानसिकताबाट मुक्त हुनुपर्ने बताएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले विपत्तिपछि गर्नुपर्ने तत्कालीन काममा सरकार चुकेको आरोप लगाउनुभएको हो ।

उहाँले बाढीपछि सरकारले तत्काल सार्वजनिक आह्वान, सहयोगका लागि अनुरोध तथा कूटनीतिक पहलमार्फत सहायता माग्नुपर्नेमा त्यसो गर्न नसकेको बताउनुभयो । विद्यालय तथा क्याम्पसका इन्जिनियर र विभिन्न क्षेत्रका विज्ञसँग समन्वय गरी परिचालन गर्न पनि सरकार चुकेको उहाँको भनाइ छ ।

अर्यालले विपद्का अनुभवबाट पाठ सिक्दै तत्काल सर्वदलीय बैठक बोलाएर छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीलाई देश र जनताको माया सरकारमा रहेका व्यक्तिलाई मात्र बढी हुने भन्ने नहुने उल्लेख गर्दै विपत्तिको समयमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

‘यो विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यू, देश र जनताको माया तपाईंलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन । काम नै भएन भन्न खोजेको होइन, अझ बढी गर्न सकिन्थ्यो ।’

प्रकाशित मिति: ३० भदौ २०८३, मंगलबार  १६ : ३५  बजे