काठमाडौं, २९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको पुनर्स्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएका तथा दातृ निकायबाट प्राप्त स्रोत–साधनको अधिकतम उपयोग गर्ने बताउनुभएको हो ।
उहाँले विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त गर्नुभयो । विगतमा तीन तहका सरकारबीच समन्वयको अभाव हुने गरेको सुनिए पनि यसपटक सबै तह एकै ठाउँमा उभिएर काम गरेको उहाँको भनाइ थियो ।
सरकारले प्रभावित क्षेत्रमा सडक सञ्जाल यथाशीघ्र सञ्चालनमा ल्याउन निरन्तर काम गरिरहेको र सडक खुलेपछि जनजीवन सामान्य बनाउन सहज हुने प्रधानमन्त्री शाहले बताउनुभयो ।
नदी तटीय क्षेत्रमा रहेका पुराना बस्ती अत्यधिक जोखिममा रहेकाले त्यही स्थानमा पुनः बस्ती बसाल्न सम्भव नहुने उहाँले स्पष्ट पार्नुभयो ।
सरकारले प्रभावित क्षेत्र नजिकैका सुरक्षित स्थानमा वैज्ञानिक ढङ्गले नयाँ बस्ती बसाउने तयारी थालेको छ । नयाँ बस्ती निर्माण गर्दा प्रभावितको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमिनको संरक्षणलाई प्राथमिकता दिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नयाँ बस्तीका लागि उपयुक्त र सुरक्षित जग्गा पहिचान गरी संघीय सरकारलाई सिफारिस गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।











प्रतिक्रिया