काठमाडौं, २९ भदौ । नेकपा एमालेको पुनर्गठन र रूपान्तरणबारे उपाध्यक्ष रामबहादुर थापा र महासचिव शङ्कर पोखरेलले तयार पारेका छुट्टाछुट्टै प्रतिवेदन एकीकृत गर्ने सहमति भएको छ ।
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले व्यहोरेको पराजयको कारण खोजी तथा पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठित कार्यदलमा प्रतिवेदनलाई लिएर विवाद भएको थियो ।
महासचिव पोखरेलले प्रदेशसहित १३ वटा भेलाबाट प्राप्त सुझाव समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वेच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने र त्यसका लागि विधान महाधिवेशन तथा महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन तयार गर्नुभएको थियो ।
तर उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषयलाई ‘बेमौसमी बाजा’ भन्दै पोखरेलको प्रतिवेदनको खण्डन गर्नुभएको थियो । उहाँले नेतृत्व पुनर्गठनको प्रस्तावलाई दक्षिणपन्थी प्रवृत्तिको संज्ञा दिनुभएको थियो ।
विवाद बढेपछि काभ्रेको एक होटलमा आवासीय रूपमा बसेर भएको कार्यदलको बैठकले दुवै प्रतिवेदन एकीकृत गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेललाई दिएको सचिव राजन भट्टराईले जानकारी दिनुभयो ।











प्रतिक्रिया