काठमाडौं, २९ भदौ । भोटेकोशी बाढीमा परी हालसम्म १ हजार ३९२ जनाको शव फेला परेको छ भने ४ हजार ८९ जना अझै सम्पर्कविहीन रहेका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला र ५१४ वटा आंशिक अङ्गसहितका शव रहेका छन् । फेला परेका शवमध्ये १०३ वटा आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीनमध्ये स्वदेशीतर्फ २ हजार ९०७ पुरुष र ५७२ महिला छन् । यस्तै, विदेशी नागरिकतर्फ २७२ पुरुष र ३२८ महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
बाढीपछि हालसम्म ९ हजार २८७ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ६ हजार ४०७ पुरुष, २ हजार ८३० महिला र पहिचान नखुलेका ५० जना रहेका छन् ।
उद्धार गरिएकामध्ये २ हजार ७८१ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखतका लागि डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ ।
बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलसहित सम्बन्धित सरकारी निकाय प्रभावित क्षेत्रमा परिचालित छन् ।











प्रतिक्रिया