सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

सल्यान, २७ भदौ । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइतेमध्ये जिप चालक त्रिवेणी–५ सिम्कका २४ वर्षीय भुपाल पुनको अवस्था गम्भीर रहेको छ । टाउकोमा चोट लागेका पुन बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेमा त्रिवेणी–५ का २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वली तथा त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन् । उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चार जनालाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति: २७ भदौ २०८३, शनिबार  १३ : १८  बजे