१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २६ भदौ । रसुवा बाढीपछि त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि उद्धार गरिएका सप्तरीका सञ्जय साह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ।

भदौ १९ गते सुरुङबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएका साह छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आठ दिनको उपचारपछि शुक्रबार साँझ डिस्चार्ज हुनुभएको हो।

डिस्चार्जपछि साहले भगवानको आशीर्वाद र कृपाले आफूले पुनः यस्तो दिन देख्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो।

सुरुङभित्र रहँदा आफूले आत्मविश्वास र धैर्य कायम राखेको बताउँदै उहाँले महामन्त्र जपेर बसेको बताउनुभयो।

अस्पतालबाट डिस्चार्ज भएपछि साह परिवारका सदस्यसँग खुसी हुँदै घर फर्किनुभएको छ।

प्रकाशित मिति: २६ भदौ २०८३, शुक्रबार  २० : ५२  बजे