सोलुखुम्बु, २६ भदौ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सीमामा पर्ने हुङ्गा खोला पहिरोले थुनिएपछि स्थानीय प्रशासनले दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
शुक्रबार बिहान करिब ७ बजे खसेको ठूलो पहिरोले हुङ्गा खोला थुनिँदा करिब १०० मिटर लामो र १६ मिटर अग्लो बाँधजस्तो संरचना बनेको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिनुभयो।
पहिरो खस्ने क्रम अझै नरोकिएकाले खोलामा पानी जम्ने क्रम बढिरहेको र अस्थायी रूपमा बनेको ताल फुट्न सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ।
हुङ्गा खोला दुधकोशी नदीमा मिसिने भएकाले थुनिएको पानी एक्कासि बाहिरिएमा तल्लो तटीय क्षेत्रमा क्षति पुग्न सक्ने भन्दै सोलुखुम्बुका साथै ओखलढुङ्गा र खोटाङका दुधकोशी तटीय क्षेत्रका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै महाकुलुङ गाउँपालिकाले अवस्थाको निरीक्षण तथा सम्भावित जोखिम न्यूनीकरणका लागि घटनास्थलतर्फ स्काभेटर पठाएको जनाएको छ। गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङका अनुसार घटनास्थलको अवस्था अध्ययन गरी आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको छ।
हुङ्गा खोला र आसपासका क्षेत्रमा विभिन्न जलविद्युत् आयोजना निर्माणाधीन रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले खोला तथा नदी आसपासका बासिन्दालाई सुरक्षित रहन र सुरक्षा निकायबाट जारी हुने सूचनाको पालना गर्न आग्रह गरेको छ।











प्रतिक्रिया