काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा पार्टी थप बलियो र सबल भएर अघि बढ्ने दाबी गर्नुभएको छ ।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र देखिएका राजनीतिक तथा कानुनी विषय संवाद, संविधान, कानुन तथा पार्टी विधानका आधारमा समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
“सभापतिले सबैलाई सँगसँगै जाऊँ भनेर प्रयास गरिराख्नुभएको छ । देशभरिका साथीहरूले व्यक्त गर्नुभएको दृढता र भावनाको जगमा पूर्ण विश्वासका साथ भन्न सक्दछु, आगामी दिनमा विकास भएर जाने जे हाम्रो सङ्कल्प छ, त्यो अबको दिनमा अझ बलियो भएर जान्छ,” उहाँले भन्नुभयो ।
शर्माले राजनीतिक विषय राजनीतिक ढङ्गबाटै समाधान हुने बताउँदै संविधान, कानुन, पार्टी विधान, इतिहासको निरन्तरता र पार्टी कार्यकर्ताको भावनाका आधारमा कांग्रेसले राष्ट्रिय शक्तिका रूपमा आफ्नो भूमिका प्रभावकारी ढङ्गले निर्वाह गर्ने बताउनुभयो ।
सर्वोच्च अदालतले वैशाख ४ गते नेपाली कांग्रेसका सम्बन्धमा निर्वाचन आयोगले गरेको अद्यावधिकलाई सदर गरेपछि पार्टीभित्र कसैको जित वा हारका रूपमा नलिई समाधान खोज्ने प्रयास गरिएको उहाँले बताउनुभयो ।
फैसला आएको ४८ घण्टा नपुग्दै सभापति थापा तत्कालीन कार्यवाहक सभापतिको निवासमा पुगेर संवाद गर्नुभएको स्मरण गर्दै उहाँले विभिन्न नेताहरूसँग पटक–पटक छलफल गरिएको जानकारी दिनुभयो ।
जेठ १६ गते पार्टी एकताका लागि सातबुँदे प्रस्ताव लिखित रूपमा नेताहरूसमक्ष पठाइएको पनि उहाँले बताउनुभयो ।
सर्वोच्च अदालतले निस्सा दिएपछि इतर समूहको भेलाबाट अर्को दल बन्ने सम्भावना अन्त्य भएको शर्माको दाबी छ ।
“भेला सकिएपछि हामी संवाद गर्नेछौँ । भेला सकिँदासम्म हाम्रो बैठक चल्न सक्छ । हामी संवादका लागि खुला छौँ । यो पार्टी सबैको हो भन्ने कुरा अग्रज नेता र भेलामा आउने सबैले गहिरो आत्मसाथ गर्नुहुन्छ भन्ने विश्वास गर्छौँ,” उहाँले भन्नुभयो ।












प्रतिक्रिया