काठमाडौं, २९ साउन । मुस्ताङको घरपझोङ गाउँपालिकाले आगामी भदौ ३० र ३१ गते सदरमुकाम जोमसोममा जलवायु सम्मेलन आयोजना गर्ने भएको छ ।
जलवायु परिवर्तनका कारण उत्पन्न समस्या, चुनौती तथा जलवायु अनुकूलनका विषयमा साझा धारणा बनाउन सम्मेलन आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
सम्मेलनमा देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई सहभागी हुन पत्राचार गरिएको छ । सम्मेलनमा हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारेको असर, विपद् तथा त्यसको न्यूनीकरणका उपायबारे छलफल गरिनेछ ।
सम्मेलनबाट जलवायु परिवर्तनका असरविरुद्ध स्थानीय तहको साझा प्रतिबद्धतासहित ‘घरपझोङ घोषणापत्र २०८३’ जारी गर्ने तयारी गरिएको छ ।
सम्मेलनमा जलवायु परिवर्तनका असर झल्कने फोटो प्रदर्शनीसमेत आयोजना गरिनेछ । साथै स्थानीय तहका धारणा तथा घोषणापत्रमा समेट्नुपर्ने विषयबारे पनि छलफल हुनेछ ।
कालीगण्डकी नदी किनार, मुक्तिनाथ क्षेत्र र नीलगिरि हिमालको काखमा हुने सम्मेलनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने गाउँपालिकाको उद्देश्य छ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमपहिरो, हिमताल फुट्ने, बाढीपहिरो, नदी कटान, खानेपानीका मुहान सुक्ने तथा कृषि र पशुपालनमा असर पर्ने समस्या बढ्दै गएको गाउँपालिकाले जनाएको छ ।












प्रतिक्रिया