किशोर श्रेष्ठ पक्राउको विरोधमा मध्यराति प्रहरी कार्यालयअघि पत्रकारको धर्ना

काठमाडौं, २८ साउन । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार तथा सञ्चारकर्मीले मध्यराति काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिएका छन् ।

समाचार प्रकाशनसम्बन्धी विषयमा श्रेष्ठलाई बुधबार साँझ ललितपुरको नख्खुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मी प्रहरी परिसर पुगेका थिए । उनीहरूले नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गरेका थिए ।

पत्रकारहरूले समाचारमा चित्त नबुझे स्थापित कानुनी तथा प्रेससम्बन्धी प्रक्रियाबाट समाधान खोज्नुपर्ने भन्दै समाचार प्रकाशनकै विषयमा सम्पादकलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघलगायत पत्रकारसम्बद्ध संस्थाले घटनाप्रति आपत्ति जनाउँदै पत्रकारलाई निर्भीक रूपमा समाचार लेख्ने र प्रकाशित गर्ने वातावरण सुनिश्चित गर्न सरकार तथा सुरक्षा निकायसँग माग गरेका छन् ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार  ०८ : ०४  बजे