वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

काठमाडौँ, २६ साउन । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र बिमलको निधन भएको छ । उहाँको ७९ वर्षको उमेरमा सोमबार राति पौने १ बजे निधन भएको हो ।

उहाँका कान्छा छोरा डा. विभाष लाभका अनुसार सोमबार राति करिब साढे ११ बजे कुराकानी गरिरहनुभएका बिमल अचानक बिरामी पर्नुभएको थियो । तत्काल नजिकैको अस्पताल लगिए पनि उपचारका क्रममा उहाँको निधन भएको हो ।

हाल उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोकस्थित आफ्नै निवासमा राखिएको छ ।

डा. बिमलले नेपाली, मैथिली र अंग्रेजी भाषामा विभिन्न साहित्यिक विधामा कलम चलाउनुभएको थियो । भाषा विज्ञानमा विद्यावारिधि गर्नुभएका उहाँले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर गर्नुभएको थियो ।

उहाँ २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा संलग्न हुनुभएको थियो । साहित्य तथा शिक्षाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका बिमल जगदम्बा श्री पुरस्कार, मधुपर्कलगायत विभिन्न सम्मानबाट विभूषित हुनुभएको थियो ।

डा. विजय दत्तका अनुसार उहाँको आजै दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिनेछ ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार  ०९ : ४८  बजे