एमबीएस प्रश्नपत्र लिक प्रकरण : स्ववियुको छानबिन र डीनको राजीनामा माग

काठमाडौं, १० साउन । त्रिभुवन विश्वविद्यालयको एमबीए (एमबीएस) प्रश्नपत्र बाहिरिएको प्रकरणमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले दुई दिनभित्र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।

स्ववियु अध्यक्ष दीपक जोशीले आइतबार विज्ञप्ति जारी गर्दै प्रश्नपत्र कसरी बाहिरियो, कसको संलग्नता थियो भन्ने विषयमा सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न आग्रह गर्नुभएको हो।

स्ववियुले व्यवस्थापन संकायका डीन र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट राजीनामा दिनुपर्ने मागसमेत गरेको छ।

उहाँले परीक्षा प्रणालीको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन नसक्ने उल्लेख गर्दै तोकिएको समयभित्र छानबिन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने संकेत दिनुभएको छ।

यसअघि प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ भने घटनाको सत्यतथ्य पत्ता लगाउन त्रिभुवन विश्वविद्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार  १४ : ४५  बजे