भोटेकोसीमा खसेको ईभीका चालकको खोजी जारी, गृहमन्त्री गुरुङ घटनास्थलमा

काठमाडौं, १० साउन । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा खसेको विद्युतीय सवारीसाधनका चालकको खोजी तथा उद्धार कार्यको अनुगमन गर्न गृहमन्त्री सुधन गुरुङ घटनास्थल पुग्नुभएको छ।

शनिबार साँझ दुर्घटनामा परेका चालक कालिका गाउँपालिका–३ तल्लो धारापानीका २२ वर्षीय सविन तामाङको खोजीका लागि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी, गोताखोर तथा १० वटा ड्रोन परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिनुभयो।

गृहमन्त्री गुरुङले घटनास्थलको स्थलगत निरीक्षण गर्दै खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई हौसला प्रदान गर्नुभएको थियो।

जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा उद्धार कार्य जारी रहे पनि दुर्घटनास्थलको गहिरो खोँच, धमिलो पानी र नदी किनारका विशाल चट्टानका कारण खोजी अभियानमा कठिनाइ भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार  १४ : १८  बजे