एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

काठमाडौं, ९ साउन । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारमा सत्ता सहकार्य र नेतृत्व बाँडफाँट गर्ने तीनबुँदे सहमतिमा हस्ताक्षर गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सहमतिपत्रमा हस्ताक्षर गर्दै प्रदेशसभामा संयुक्त सरकार गठन र सत्ता साझेदारीमा सहमति जनाउनुभएको हो।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने भएको छ। मधेश र गण्डकी प्रदेशमा भने अन्य राजनीतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख गरिएको छ।

दुवै दलले राजनीतिक स्थिरता, सुशासन, समृद्धि तथा प्रादेशिक विकासलाई गति दिन र प्रदेशसभामा देखिएका बजेटसम्बन्धी असमझदारी तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्न सहकार्यको निर्णय गरिएको बताएका छन्।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार  १८ : ५९  बजे