काठमाडौं, ९ साउन । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढीस्थित कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगिएको छ।
धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालामा अनशनरत डा. केसीको शनिबार बिहान चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मात्रै रहेको पाइएको थियो। सुगरको मात्रा अत्यन्त न्यून भएपछि चिकित्सकले तत्काल आईसीयूमा भर्ना गरी उपचार गर्न सिफारिस गरेका थिए।
डा. केसी बिहीबारदेखि पाँच बुँदे माग राख्दै २४औँ सत्याग्रहमा छन्। उनका सहयोगी अमृत जैशीका अनुसार स्वास्थ्य अवस्था बिग्रँदै जाँदा मांसपेशी बाउडिने, बोल्न कठिन हुने तथा हिँडडुल गर्न र बाथरुम जानसमेत समस्या भइरहेको छ।
यसबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले डा. केसीका माग सम्बोधन गर्न सकारात्मक रहेको बताएका छन्। शुक्रबार मन्त्री पोखरेलले डा. केसीसँग टेलिफोन संवाद गर्दै वार्ता टोली गठन गर्ने र आवश्यक परे धनगढी नै आउने प्रतिबद्धता जनाएको डा. केसी पक्षले जनाएको छ।
डा. केसीले पाँच बुँदे मागसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको पठनपाठन सुरु तथा उपकुलपति र रजिष्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मागसमेत अघि सारेका छन्।







प्रतिक्रिया