मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ परिवार विस्थापित

काठमाडौं, ९ साउन । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा गएराति आएको पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु भएको छ भने सात घरपरिवार विस्थापित भएका छन्।

प्रहरीका अनुसार स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा ढुंगासहित आएको पहिरोले घर पुरेको थियो।

पहिरोमा पुरिएका रमेश बडुवाललाई प्रहरी र स्थानीयवासीले उद्धार गरी पुलु स्वास्थ्य चौकी पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनका बुबा–आमा भने सामान्य घाइते भएका छन् र स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

करिब २०० मिटर माथिबाट आएको पहिरोले घर पूर्ण रूपमा क्षति पुगेको छ। घटनास्थल आसपासका थप आठ घर उच्च जोखिममा परेपछि त्यहाँ बस्दै आएका सात घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

उद्धार तथा खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा टोली परिचालन गरिएको छ। छायल प्रहरी चौकीको टोली, स्थानीयवासी र सुरक्षाकर्मीले घटनास्थलमा उद्धार तथा थप जोखिम न्यूनीकरणको काम गरिरहेका छन्।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार  १२ : ३१  बजे