एकताको बलमा मुलुक समृद्ध: राष्ट्रपति

काठमाडौं, ९ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रममा उहाँले पुर्खाको बलिदान, साहस र वीरताका कारण नेपाली भई शिर उँचो बनाएर गौरवसाथ उभिन सकेको बताउनुभयो ।

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिने चर्चा गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ । यसले नै भविष्य निर्माणको सुनौलो बाटो पनि तय गर्छ भन्ने ठान्दछु ।” उहाँले वीर पुर्खाले हाम्रो राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता एवं सार्वभौमसत्ताका लागि गरेको बलिदान र पु¥याएको योगदान स्तुत्य भएको पनि चर्चा गर्नुभयो । राष्ट्रपति पौडेलले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै राष्ट्रप्रेमप्रतिको अगाध आस्था र प्रतिबद्धतालाई किमार्थ विचलित हुन दिनु नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामी सबै मिलेर भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गरी सुशासनका माध्यमबाट देश विकासको कामलाई तीव्र बनाउन जुटौँ । यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित हाम्रा वीर पुर्खाप्रतिको सच्चा सम्मान हुने छ ।”राष्ट्रपति पौडेलले बहुआयामिक व्यक्तित्वको छवि बनाएका भीमसेना थापा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्ध कहिल्यै नझुकेको उल्लेख गर्दै देशभक्ति उहाँको मूलमन्त्र भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अङ्ग्रेजसँग भएको युद्धमा ठुलो मूल्य चुकाउनु परे पनि उहाँको राष्ट्रभक्तिकै अडानले नेपाल स्वतन्त्र रहन सक्यो ।” कार्यक्रममा राष्ट्रपति पौडेलले सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई पुरस्कार एवं सम्मान प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार  ०९ : ४८  बजे