स्रोत नखुलेको ५ लाख रुपैयाँसहित सर्लाहीबाट युवक पक्राउ

काठमाडौं, ९ साउन । सर्लाहीबाट स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा मलंगवा नगरपालिका–४ निवासी ३६ वर्षीय बिकाउ महतो रहेका छन्।

प्रहरीले भारतको सोनवर्षाबाट बीआर ३० एच १९६९ नम्बरको भारतीय मोटरसाइकलमा मलंगवातर्फ आउँदै गरेका महतोलाई जाँचका क्रममा नियन्त्रणमा लिएको हो। उनको साथबाट बरामद गरिएको ५ लाख रुपैयाँको स्रोत खुलाउन नसकेपछि प्रहरीले रकम नियन्त्रणमा लिएको जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार  ०९ : ३५  बजे