संविधान प्रतिगामी संशोधन रोक्ने अवस्थामा छैनौँ, मुलुक अप्ठ्यारो मोडमा छ : प्रदीप ज्ञवाली

काठमाडौं, ८ साउन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान शक्ति सन्तुलनका कारण संविधानमा हुन सक्ने प्रतिगामी संशोधन रोक्न कठिन अवस्था सिर्जना भएको बताउनुभएको छ।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले मुलुक जटिल राजनीतिक मोडमा पुगेको उल्लेख गर्दै संविधान र गणतान्त्रिक उपलब्धिहरूमाथि चुनौती बढेको दाबी गर्नुभयो।

उहाँले संविधान निर्माणमा मुख्य भूमिका खेलेका तीन दल एक ठाउँमा उभिए पनि प्रतिनिधिसभामा प्रतिगामी संशोधन रोक्न पर्याप्त संख्या नरहेको बताउनुभयो। राष्ट्रिय सभाबाट केही सन्तुलन कायम हुने अपेक्षा व्यक्त गर्दै उहाँले संविधान संशोधनको नाममा भइरहेका गतिविधिप्रति चिन्ता जनाउनुभयो।

प्रधानमन्त्रीप्रति संकेत गर्दै ज्ञवालीले गणतन्त्र दिवसमा गणतन्त्रबारे शुभकामना नदिएको तथा सार्वजनिक कार्यक्रममा पनि गणतन्त्रको पक्षमा स्पष्ट धारणा नराखेको टिप्पणी गर्नुभयो।

उहाँले नेपाललाई भूराजनीतिक प्रतिस्पर्धाको केन्द्र बनाउने प्रयास भइरहेको दाबी गर्दै विदेशी सैन्य अधिकारीहरूको भ्रमण, ‘फ्री तिब्बत’ गतिविधि र दलाई लामाको जन्मोत्सवजस्ता घटनालाई त्यसकै संकेतका रूपमा प्रस्तुत गर्नुभयो।

प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिले नेपाललाई भूराजनीतिक भुमरीतर्फ धकेल्न सक्ने भन्दै ज्ञवालीले राष्ट्रिय हित र संविधानको संरक्षणमा सबै राजनीतिक शक्ति सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार  २० : ४०  बजे