बाजुरामा बाढी बस्तीमा पस्दा १३ परिवार विस्थापित, तीन घर उच्च जोखिममा

काठमाडौं, ८ साउन । अविरल वर्षासँगै आएको बाढीका कारण बाजुराको बडिमालिका नगरपालिका–९ मा १३ परिवार विस्थापित भएका छन्।

बिहीबार राति सेलागाड खोला र बाउली खोलाको दोभान क्षेत्रबाट आएको बाढी बस्तीमा पसेपछि स्थानीय बासिन्दा त्रासमा परेका हुन्। बाढीले बस्ती नै जोखिममा परेपछि नेपाल प्रहरीसहितको उद्धार टोलीले राति नै प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

प्रहरीका अनुसार विस्थापित परिवारलाई तत्कालका लागि नजिकैका स्थानीयवासीका सुरक्षित घरमा राखिएको छ। बाढीका कारण स्थानान्तरण गरिएका १३ परिवारमध्ये तीन वटा घर उच्च जोखिममा रहेको जनाइएको छ।

स्थानीय प्रशासनले वर्षा जारी रहेकाले नदी तथा खोलाछेउका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै प्रभावित क्षेत्रको अवस्था निरन्तर निगरानीमा राखिएको र आवश्यक परे थप उद्धार तथा राहतका काम अघि बढाइने जनाएको छ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार  १३ : ४१  बजे