बेदिका केसी हाजिर जमानीमा रिहा, आज सरकारी वकिलको कार्यालयमा उपस्थित हुने

काठमाडौं, ८ साउन । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको तथा लाञ्छना लगाएको आरोपमा पक्राउ परेकी बेदिका केसी हाजिर जमानीमा रिहा भएकी छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार उहाँलाई बिहीबार राति नै आज बिहान १० बजे जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा उपस्थित हुने शर्तमा रिहा गरिएको हो।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीका अनुसार सरकारी वकिलको कार्यालयको सहमतिमा केसीलाई हाजिर जमानीमा छोडिएको हो।

पुराण वाचिका राधिका दासीको जाहेरीका आधारमा बिहीबार बिहान पक्राउ परेकी केसीमाथि अनुसन्धानका लागि प्रहरीले १० दिनको म्याद माग गरेको थियो। तर, अदालतले एक दिनको मात्रै म्याद थप गरेको थियो।

स्रोतका अनुसार जाहेरवाला राधिका दासीले केसीलाई थुनामा नराखी सहमतिमार्फत समाधान गर्न चाहेको भए पनि फौजदारी प्रकृतिको मुद्दा भएकाले कानुनी रूपमा मिलापत्र सम्भव नभएको थियो। त्यसपछि सरकारी वकिलको कार्यालयको सहमतिमा उहाँलाई हाजिर जमानीमा रिहा गरिएको हो।

यद्यपि, हाजिर जमानीमा छुटे पनि मुद्दाको कानुनी प्रक्रिया भने जारी रहनेछ। अनुसन्धानका क्रममा प्रहरीले बोलाएको समयमा उपस्थित हुनुपर्नेछ। उपस्थित नभए पुनः पक्राउ गर्न सकिने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार  ०८ : ३९  बजे