मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं, ८ साउन । मोरङ र पूर्वी नवलपरासी (नवलपुर) मा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

मोरङको रतुवामाई नगरपालिका–४ भद्रचोकमा बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा झापाको गौरीगञ्ज गाउँपालिका–६ निवासी २८ वर्षीय वरुणकुमार राजवंशी गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि रतुवामाई नगर अस्पताल, झुरकिया लगिए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

यस्तै, पूर्वी नवलपरासी (नवलपुर) को कावासोती नगरपालिका–१६ मा मोटरसाइकलको ठक्करबाट ४५ वर्षीय सुरज विक को मृत्यु भएको छ। नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु ५० प ५५७३ नम्बरको मोटरसाइकल ले उहाँलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

बुधबार राति करिब ९ बजे उहाँ सडकमा घाइते अवस्थामा फेला पर्नुभएको थियो। उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको उक्त मोटरसाइकलले ठक्कर दिएको खुलेपछि मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिइएको छ।

दुवै घटनाबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार  ०८ : ३५  बजे