काठमाडौं, ८ साउन । महोत्तरी र ताप्लेजुङमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ।
महोत्तरीको जलेश्वर नगरपालिका–३ मलिवारास्थित संगम वाइन होटलका २६ वर्षीय कर्मचारी सन्जय यादवको खाना खाँदै गर्दा अचानक बेहोस भएर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार राति करिब ११ बजे खाना खाइरहेका बेला यादव अचानक अचेत भएपछि उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो। अस्पताल पुग्नासाथ चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।
मृत्युको कारण खुल्न बाँकी रहेकाले घटनाबारे अनुसन्धानका लागि होटल सञ्चालक विमलकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै, ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ डाँडागाउँमा घरको फलैँचाबाट लडेर ३६ वर्षीय कुमार गुरुङको मृत्यु भएको छ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ६:३० बजे घरको सिमेन्टको फलैँचामा सुतिरहेको अवस्थामा उहाँ लड्नुभएको थियो। घटनास्थलमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।







प्रतिक्रिया