सर्वोच्च अदालतको नेतृत्व फेरि सपना प्रधान मल्लको हातमा

काठमाडौं, ७ साउन । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दोस्रोपटक कायममुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको छ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा बिहीबारदेखि भारत भ्रमणमा प्रस्थान गर्नुभएपछि वरिष्ठताका आधारमा न्यायाधीश मल्लले स्वतः कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको हो। उहाँले प्रधानन्यायाधीश शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइसमेत गर्नुभएको थियो।

यसअघि तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण अवकाश भएपछि पनि न्यायाधीश मल्लले गत वर्ष चैत १८ गतेदेखि झण्डै डेढ महिनासम्म कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको थियो। त्यसपछि डा. शर्मा प्रधानन्यायाधीश नियुक्त भएसँगै उहाँ नियमित जिम्मेवारीमा फर्किनुभएको थियो।

प्रधानन्यायाधीश डा. शर्मा स्वदेश नफर्किउञ्जेल न्यायाधीश मल्लले सर्वोच्च अदालत तथा न्यायपालिकाको नेतृत्व सम्हाल्नुहुनेछ।

संवैधानिक परिषद्ले न्यायपरिषद्बाट सिफारिस गरिएका योग्य न्यायाधीशहरूको सूचीका आधारमा डा. शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेको थियो।

प्रधानन्यायाधीश शर्मा भारतीय सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा जानुभएको हो। उहाँलाई सर्वोच्च अदालतका न्यायाधीश तथा विशिष्ट कर्मचारीहरूले बिदाइ गर्नुभएको थियो। उहाँ साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  २१ : १०  बजे