काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति केवल सत्ता र शक्ति प्राप्तिको प्रतिस्पर्धा नभई समाजसँग जोडिएको जिम्मेवारी र जनसेवाको माध्यम भएको बताउनुभएको छ।
४४औँ वीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले राजनीतिको परिभाषा र अभ्यास दुवै बदल्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भत्किएका विद्यालय पुनर्निर्माण गर्नु, लागुऔषध दुर्व्यसनमा फसेका युवालाई सही मार्गमा ल्याउनु, किसानलाई मल तथा उत्पादनको उचित मूल्य उपलब्ध गराउनु, वन–नदी र वातावरण संरक्षण गर्नु तथा रोजगारी सिर्जना गर्नु पनि वास्तविक राजनीति भएको उल्लेख गर्नुभयो।
सभापति थापाले कांग्रेस कुनै एक निर्वाचनको हार वा जितबाट विचलित नहुने स्पष्ट पार्दै सिद्धान्त र आस्थासँग सम्झौता गरेर गरिने गठबन्धनको राजनीति पार्टीको मूल बाटो हुन नसक्ने बताउनुभयो। उहाँले समाज र विचारले स्वीकार नगर्ने राजनीतिक सहकार्यले कांग्रेसको मौलिक पहिचान कमजोर बनाउने धारणा राख्नुभयो।
उहाँले कांग्रेसको पहिलो प्राथमिकता सत्ता प्राप्ति नभई नागरिकको विश्वास जित्नु हुनुपर्नेमा जोड दिँदै समाजसँग गहिरो सम्बन्ध स्थापित गर्न सके नागरिकले नै नेतृत्वको अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
सभापति थापाले पार्टीका नेता–कार्यकर्तालाई विगतका कमजोरीबाट पाठ सिक्दै जनताको घरदैलोमा पुग्न, समाजसँग पुनः सुमधुर सम्बन्ध स्थापित गर्न र कांग्रेसलाई सामाजिक परिवर्तनको संवाहकका रूपमा अघि बढाउन आग्रह गर्नुभयो।







प्रतिक्रिया