प्रेसमाथि दबाब बढेको ठहर गर्दै पत्रकार महासंघले गर्‍यो प्रदर्शनको घोषणा

काठमाडौं, साउन  ७ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा काठमाडौं, ललितपुर र भक्तपुर शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको निष्कर्ष निकाल्दै त्यसको विरोधमा साउन ९ गते माइतीघर मण्डलमा बृहत् प्रदर्शन गर्ने घोषणा गरेका छन्।

बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै महासंघले आम निर्वाचनपछि गठन भएको वर्तमान सरकारबाट प्रेस स्वतन्त्रताको संवैधानिक भावना अनुरूप सञ्चारमैत्री नीति आउने अपेक्षा गरिए पनि व्यवहारमा सञ्चारमाध्यममाथि दबाब, अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन तथा सञ्चारगृह लक्षित गतिविधि बढेको जनाएको छ।

महासंघले यस्ता गतिविधिका कारण सञ्चार क्षेत्र स्वनियन्त्रण (सेल्फ सेन्सरशिप) को डरलाग्दो अवस्थामा पुगेको उल्लेख गर्दै सञ्चार क्षेत्रका दीर्घकालीन समस्याप्रति सरकारले आवश्यक चासो नदिएको आरोप लगाएको छ। समानुपातिक विज्ञापन नीति कार्यान्वयन, साना तथा स्वरोजगार सञ्चारमाध्यमको संरक्षण, लोककल्याणकारी विज्ञापन व्यवस्थाको सुधार, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, पत्रकारको सामाजिक सुरक्षा तथा बीमालगायतका माग अझै सम्बोधन हुन नसकेको महासंघको भनाइ छ।

महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन वितरणमा लगाइएको प्रतिबन्ध सर्वोच्च अदालतको आदेशपछि हटाइएको स्वागत गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनप्रति भने आशंका व्यक्त गरेको छ। अदालतको आदेश व्यवहारमा लागू नभए सञ्चार क्षेत्र थप समस्यामा पर्ने चेतावनी पनि दिइएको छ।

विज्ञप्तिमार्फत महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारगृहको सुरक्षा र नागरिक अधिकारको संरक्षण सुनिश्चित गर्न सरकारसँग प्रेसविरोधी नीति तत्काल फिर्ता लिन माग गरेको छ। साथै संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता, अन्तर्राष्ट्रिय अभ्यास र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ।

महासंघले यी मागलाई थप सशक्त रूपमा उठाउन साउन ९ गते शनिबार दिउँसो ३ बजे काठमाडौंको माइतीघर मण्डलमा बृहत् विरोध प्रदर्शन गर्ने निर्णय गरेको जनाएको छ। प्रदर्शनमा सञ्चारकर्मी, नागरिक अधिकारकर्मी तथा सरोकारवालालाई सक्रिय सहभागिताका लागि पनि आह्वान गरिएको छ।

संयुक्त विज्ञप्तिमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिकी कार्यवाहक अध्यक्ष रोजिना थापा (कार्की), काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल, ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की तथा भक्तपुर शाखाका अध्यक्ष सुन्दर सिल्पकारको हस्ताक्षर रहेको छ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  २० : ४०  बजे