मनसुनभर उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह, २४ घण्टामा ४७ विपद्का घटना

काठमाडौं, ७ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी, पहिरो, डुबान, कटान, चट्याङ र सर्पदंशको जोखिम उच्च रहेकाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले यात्रा गर्नुअघि मौसम र सडकको अवस्था बुझ्न, रातिको समयमा अनावश्यक यात्रा नगर्न, बाढी आएका खोला–नदी तर्ने प्रयास नगर्न तथा पहिरो जोखिम भएका क्षेत्रमा आवतजावत नगर्न अनुरोध गरेको छ। साथै वर्षाको समयमा नदीमा पौडी खेल्न, माछा मार्न वा दाउरा संकलन गर्न नजान पनि सचेत गराएको छ।

जोखिमयुक्त पुल तथा नदी किनारमा फोटो वा भिडियो नखिच्न, एक्लै पदयात्रा नगर्न, चट्याङ पर्दा सुरक्षित स्थानमा बस्न तथा आवश्यक कागजात, औषधि र अत्यावश्यक सामग्री सुरक्षित राख्न पनि प्राधिकरणले सुझाव दिएको छ। विपद्का बेला अफवाहमा नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरिएको छ।

प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्का घटना भएका छन्। ती घटनामा तीन जनाको मृत्यु, आठ जना घाइते भएका छन् भने करिब १३ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

सो अवधिमा १४ वटा पहिरो, आठ–आठ वटा आगलागी र सर्पदंश, आठ वटा अविरल वर्षा, दुई वटा बाढी, तीन वटा जनावर आक्रमण र एक वटा हावाहुरीका घटना भएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  ०८ : ०७  बजे