नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

स्मृति दिवसका अवसरमा नेकपा एमालेको राजधानी प्रदेश कमिटीसहित विभिन्न कम्युनिस्ट दलहरूले विचार गोष्ठी, श्रद्धाञ्जली सभा तथा स्मरण कार्यक्रम आयोजना गरेका छन्।

वि.सं. १९८१ साल असार १५ गते रामेछापमा जन्मिनुभएका पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख वैचारिक नेतामध्ये एक मानिनुहुन्छ। उहाँले ‘कम्युनिस्ट मेनिफेस्टो’ पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै नेपाली समाजको वर्गीय विश्लेषणसम्बन्धी महत्वपूर्ण कृति र लेखहरू प्रकाशित गर्नुभएको थियो।

वि.सं. २००६ साल वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो।

प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गर्दै पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त जनआन्दोलनको पक्षमा रहनुभएका पुष्पलालको वि.सं. २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  ०७ : ५७  बजे