काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकताका लागि नेतृत्वले पहल गर्नुपर्ने बताउँदै सभापति गगन थापालाई लक्षित गर्दै आफूहरू समर्पण नगर्ने स्पष्ट सन्देश दिनुभएको छ।
प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले आफूहरू निष्क्रिय भएर नबस्ने र युवालाई अगाडि सारेर अझ सक्रिय रूपमा अघि बढ्ने बताउनुभयो।
“बरु मर्न तयार छौं, समर्पण गर्दैनौं,” भन्दै उहाँले पार्टीभित्रको एकताका लागि आफूहरूलाई कुनै पदको लोभ नभएको दाबी गर्नुभयो। सानेपामा सबै पक्षलाई एकै ठाउँमा राखेर पार्टी एकता कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
खड्काले विगतमा गिरिजाप्रसाद कोइरालाले चाहेकै कारण पार्टी एकता सम्भव भएको स्मरण गराउँदै अहिले पार्टी एकता हुने–नहुने विषय सभापति गगन थापाको इच्छामा निर्भर रहेको टिप्पणी गर्नुभयो।
उहाँले वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रियता गम्भीर संकटमा परेको दाबी गर्दै देशको हितका लागि कांग्रेसभित्र एकता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।







प्रतिक्रिया