निर्माणाधीन घरको पानीट्यांकीमा दाजु–भाइ मृत फेला, अक्सिजन अभावले ज्यान गएको आशंका

दाङ, ६ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानीट्यांकीभित्र मृत अवस्थामा फेला परेका दुई जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतकहरू नातामा दाजु–भाइ रहेका ठेकेदार कमल गिरी र मिस्त्री घनश्याम गिरी हुनुहुन्छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीका अनुसार उहाँहरू सल्यानको माल्टा स्थायी घर भई हाल तुलसीपुर–९ मा बसोबास गर्दै आउनुभएको थियो। कमल गिरी निर्माण व्यवसायीका रूपमा र घनश्याम गिरी मिस्त्रीका रूपमा संयुक्त रूपमा घर निर्माणको काम गर्दै आउनुभएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार पानीट्यांकीको सेन्ट्रिङ (फर्मा) खोल्ने क्रममा दुवै जना ट्यांकीभित्र प्रवेश गर्नुभएको थियो। त्यसक्रममा अक्सिजनको कमीका कारण निस्सासिएर उहाँहरूको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार  १५ : १३  बजे